पालिकामै पुगेर योजना सम्झौता

दैलेख : कृषि विकास कार्यालय दैलेखले उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै कार्यालयबाट सञ्चालन हुने सिचाई योजनाको सम्वन्धित पालिकामै पुगेर सम्झौता गरेको छ ।
सदरमुकाम दैलेख बजार आएर योजना सम्झौता गर्दा उपभोक्तालाई समस्या हुने, अनावश्यक खर्च धेरै हुने भएपछि, उपभोक्ताको सहजताका लागि पालिकामै पुगेर योजना सम्झौता अभियान थालिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख घनश्याम कार्कीले जानकारी दिएका छन् ।
जिल्लाबाट कार्यालय प्रमुख सहित ६ जनाको टोलि पालिकामा पुगेको हो । शुक्रवार दैलेखको भैरवी गाउँपालिकामा पुगेर ११ वटा सिंचाई योजनाहरुको सम्झौता गरिएको कार्कीको भनाई छ ।
जिल्लाबाट पालिकामै आएर कार्यालय प्रमुख सहितको टोलिले योजना सम्झौता गरिदिएपछि स्थानीय उपभोक्ताहरु खुसी भएका छन् । योजना सम्झौता गर्नका लागि सदरमुकाम जाँदा कम्तीमा ५ देखि १० हजार सम्म खर्च हुन्थ्यो त्यो खर्च बचेको छ उपभोक्ता प्रकाश अधिकारी बताउँछन् ।
कार्यालय मार्फत बिभिन्न पालिकामा छनौट भएका योजनाहरुको सम्बन्धित पालिकामै पुगेर सम्झौता गर्ने अभियान अन्तर्गत दैलेखको भगवतिमाई गाउँपालिका, गुराँस गाउँपालिका, नौमूले, डुङ्गेश्वर, महावु गाउँपालिकामा सम्झौता गर्ने काम सम्पन्न गरेको कार्यालय प्रमुख घनश्याम कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार